images
images

१ सय ५५ सहकारी एकीकरण


  • 252
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    १ सय ५५ सहकारी एकीकरण

    काठमाडौं । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका १ सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    ऐन कार्यान्वयनमा आएसँगै २०७९ साल चैतसम्म १ सय ५५ सहकारी एकापसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालले कास्की, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएका जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको बताए । 

    उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बाग्लुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा ८, तनहुँमा ७, लमजुङमा पाँच, स्याङ्जामा ४ र पर्वतमा ३ सहकारी संस्था एकीकरण भएका हुन् । 

    एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले जानकारी दिए । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एकापसमा गाभिएर सञ्चालनमा आएका उनको भनाइ थियो । 

    अर्यालका अनुसार एकीकरण गर्दा सम्बन्धित सहकारी संस्थाको कूल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्णय हुनुपर्नेछ भने एकीकरणको सर्त र कार्यविधि खुलाउनुपर्नेछ ।


    images
    images

    Logo