काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नताको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान रिहा भएका हुन् ।
शुक्रबार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।
अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको हो । यसैगरी व्यवसायी रोहन अडुकिया पनि पक्राउ परेका थिए। उनलाई पनि राजश्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेको थियो। तर राजश्व र सिआइबीले बुझ्न नमानेपछि उनलाई पनि छाडिएको छ।
झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा छन्। भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।



