काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आर्थिक बर्षमा कूल २ हजार ८ सय ८४ वटा लिखत पारित भएको महिलाका नाममा मात्रै २ हजार ६ सय २८ पास भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा जग्गा रजिष्टेसन पास वापत २४ लाख ८४ हजार ६ सय २ रुपैयाँ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ ।
ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका ९ सय सत्तरी र सहरी क्षेत्रका १ हजार ९ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ ।
महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । मालपोत कार्यालय तनहुँले गत आर्थिक बर्षमा कूल ३० करोड ८४ लाख ३ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यो अघिल्लो आर्थिक बर्षको तुलनामा १३ करोड ८२ लाख ७४ हजार ६ सय १० रुपैयाँ कम हो ।
त्यसैगरी आथिृक बर्ष २०७८/७९ मा ४ हजार ५ सय ४२ लिखत पारित हुँदा ४ करोड ५५ लाख ३ हजार ५ सय २५ रुपैयाँ छुट भएको थियो । सो आर्थिक बर्षमा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।



