काठमाडौं । साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषद्ले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको मस्यौदा मन्त्रिपरिषद्बाट पारित गरिएको हो ।
साइबर सुरक्षासम्बन्धी विषयलाई सम्बोधन गर्न भन्दै मन्त्रालयले गत वैशाखमै साइबर सुरक्षा नीति, २०८० को मस्यौदा तयार पारेको थियो ।
सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्न, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्न र साइबर स्पेसलाई सशक्त र सुदृण बनाउन साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान, जनशक्ति उत्पादन एवम् कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्य यो नीति अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
साथै, डिजिटल प्रणालीबाट प्रवाह हुने सेवालाई विश्वसनीय र सुरक्षित बनाउन र साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनीकरका लागि द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तमा समन्वय, अनुभव एवम् सहयोग आदान–प्रदान गर्ने उद्देश्य यो नीतिमा लिइएको छ ।
पारित भएको नीतिमार्फत विश्वयापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० पुर्याउने लक्ष्य राखिएको छ ।
साइबर सुरक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको कमी, बढ्दो साइबर अपराध, साइबर सुरक्षासम्बन्धी फितलो योजनाको कारण समस्या देखिन थालेपछि व्यस्थित गर्न भन्दै छुट्टै नीति लिइएको हो ।
साइबर सुरक्षा क्षेत्रमा आवश्यक विभिन्न विषयलाई समेट्दै साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन नीति उपयोगी हुने भन्दै मुख्य नौ वटा रणनीति अघि सारिएको छ ।



