images
images

१६ औं योजनाका सम्बन्धमा आयोग पदाधिकारी र यूएनडीपी प्रतिनिधिबीच छलफल


  • 231
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    १६ औं योजनाका सम्बन्धमा आयोग पदाधिकारी र यूएनडीपी प्रतिनिधिबीच छलफल

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो । 

    भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन् । 
    आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए । 

    १६ औँ योजना यस अघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए । 

    आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् । 

    साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।  

    भेटमा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, नेपालको ‘रोजगारी तथा सामाजिक सुरक्षामा विश्वव्यापी गतिशीलता’ को पाथफाइन्डर कन्ट्रीका रुपमा सहभागिता, वातावरण वित्त परिचालन, खाद्य प्रणाली लगायतका विषयमा आयोग र यूएनडिपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको छ ।


    images
    images

    Logo