काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका सम्बन्धमा राष्ट्र बैंकले गरेको तयारीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्रीसँग भेट गर्दै गभर्नर अधिकारी र डेपुटी गभर्नरहरु नीलम तिम्सिना र बमबहादुर मिश्रले यस्तोे ब्रिफिङ गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री देउवालाई अर्थतन्त्रको मौजुदा अवस्था र मौद्रिक नीतिको जारी गृहकार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएको राष्ट्र मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट यतिबेला संसद्मा विचाराधीन छ । बजेटका नीति तथा कार्यक्रम पूरा गर्न नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा बजेट परिवर्तनको गृहकार्य भएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । यस्तो अवस्थामा गभर्नरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले लगानीमैत्री, उद्योगमैत्री, निजी क्षेत्रमैत्री र बैङ्किङ क्षेत्रले उठाएका कुरालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको स्पष्ट पारे । प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रका वास्तविक अवस्थालाई दृष्टिगत गरेर मौद्रिक नीति ल्याउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



