images
images

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली


  • 277
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

    काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए । 

    उनका अनुसार, कार्यालयलाई गत आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने लक्ष्य रहेकामा १८ अर्ब १९ करोड ६९ लाख राजस्व असुली भएको थियो । नेपालगञ्ज नाकाबाट आयात हुने पेट्रोलियम पदार्थबाट भन्सार कार्यालयले यसअघि सबैभन्दा धेरै राजस्व असुली गर्ने गरेको उनले बताए ।

    गत वर्ष पेट्रोलियम पदार्थ आयातमा कमी भएको र मुलुकमा देखिएको आर्थिक मन्दिका कारण अन्य वस्तुको आयात बढ्न नसकेकाले राजस्व असुलीको लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गत आवमा राजस्व असुलीको निर्धारित लक्ष्य भेटाउन नसकेपछि चालु आर्थिक वर्ष २०८०र०८१ मा लक्ष्यमा केही कमी गरिएको छ ।

    चालु आर्थिक वर्षमा कार्यालयले २८ अर्ब ६६ करोड २५ लाख लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्न साउन महिनामा मात्रै एक अर्ब ८१ करोड ३० लाख लक्ष्य तय भएको सूचना अधिकारी शर्माको भनाइ छ । चालु आर्थिक वर्ष २०८०र८१ मा राजस्व असुलीको लक्ष्य पूरा गर्न मुख्य नाका जमुनाहमा एक सय भन्दा माथिको सामानमा भन्सार राजस्व लगाउनुका साथै ग्रामीण क्षेत्रबाट हुने राजस्व चुहावट रोक्न नियमित रुपमा भन्सार गस्ती बढाइएको उनले जानकारी दिए । 

    घरेलु प्रयोजनका नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ । सोही कारणले अहिले सीमापारीबाट एक सय भन्दा बढीको सामान खरिद गरेर ल्याउनेबाट राजस्व असुली गर्न थालिएको शर्माले बताए । उनका अनुसार मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि ग्रामीण क्षेत्रमा रहेका नाकाबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन । 

    बाँकेको भारतसँग जोडएको ६५ किलोमिटर खुला नाकामा तस्करी र अवैध आयात रोक्न सशस्त्र प्रहरीले कडा अभियान चलाएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत थापाको दाबी छ । 


    images
    images

    Logo