images
images

कञ्चनपुर भन्सार : लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन


  • 247
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    कञ्चनपुर भन्सार : लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन

    काठमाडौं । मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक ५८ करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको भए पनि ४२ करोड १० लाख रुपैयाँ मात्रै सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

    कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । “आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको हो”, उनले भने, “मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व सङ्कलनमा परेको छ ।”

    उनले अघिल्लो आवमा पनि ६ करोड रुपैयाँ राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताए ।अघिल्लो वर्ष भन्सारले ५२ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्नेमा ४६ करोड २२ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

    गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरु भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

    यहाँ प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ ।

    बेलौरी छोटी भन्सारमा भने तालाबन्दी

    कैलाली भन्सार कार्यालय मातहत रहेको कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाको बेलौरी छोटी भन्सार प्रयोगविहीन भए पनि स्थानीयवासी आन्दोलित छन् ।

    छोटी भन्सार कर्मचारीविहीन, मर्मतसम्भारविहीन बनेपछि बेलौरी उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारी त्यसको विरोधमा तालाबन्दी गरेका छन् । कैलाली भन्सारको चरम लापरबाही बेवास्ताले बेलौरी छोटी भन्सार ओझेलमा परेको आन्दोलतर पक्षको भनाइ छ ।

    १९१७ साल अर्थात् १ सय ६३ वर्षपहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारका रूपमा स्थापित बेलौरी भन्सार सदरमुकाम विस्थापित गराएको केही वर्षपछि कञ्चनपुर भन्सारअन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा राजस्व सङ्कलनसमेत राम्रै हुने गरेको थियो ।

    केही वर्षयता प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको छोटी भन्सार सञ्चालनका लागि मन्त्रीदेखि नेतासम्मले आश्वासन दिए पनि त्यो अझै पूरा हुन सकेको छैन ।


    images
    images

    Logo