images
images

तातोपानी कुण्डको आम्दानी १ करोड ३७ लाख रुपैयाँ


  • 382
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    तातोपानी कुण्डको आम्दानी १ करोड ३७ लाख रुपैयाँ

    काठमाडौं । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा १ वर्षको अवधिमा १ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । 

    म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए । 

    बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार रुपैयाँ र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी ५ लाख ३० हजार रुपैयाँ, आजीवन सदस्यताबाट ३ लाख ८ हजार रुपैयाँ तथा  ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको छ । 

    प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा ३ सय ५० देखि ४ सय जनाले स्नान गर्न सक्ने क्षमता छ । ७ दिन स्नानका लागि प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । 

    अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार रुपैयाँ उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार रुपैयाँ, संरचना निर्माण र मर्मतमा १० लाख ८९ हजार रुपैयाँसहित कूल १ करोड ३६ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । 

    आर्थिक वर्ष २०७८÷७९ मा १ करोड १७ लाख २२ हजार रुपैयाँ, आर्थिक बर्ष २०७७÷७८ मा ७८ लाख १ हजार रुपैयाँ, आर्थिक बर्ष २०७६÷७७ मा १ करोड १३ लाख ४९ हजार रुपैयाँ, आर्थिक बर्ष २०७५÷७६ मा ९९ लाख ४२ हजार रुपैयाँ तथा आर्थिक बर्ष २०७४÷७५ मा ६५ करोड ६ लाख रुपैयाँ आम्दानी भएको थियो । 

    यस्तै आर्थिक वर्ष २०७४÷७५ मा २६ लाख ५७ हजार रुपैयाँ, आर्थिक बर्ष २०७५÷७६ मा ९६ लाख १० हजार रुपैयाँ, आर्थिक बर्ष २०७६÷७७ मा १ करोड १४ लाख २३ हजार रुपैयाँ, आर्थिक बर्ष २०७७÷७८ मा १ करोड १४ लाख ५२ हजार रुपैयाँ तथा आर्थिक बर्ष २०७८÷७८ मा १ करोड ९० लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । 


    images
    images

    Logo