images
images

राहदानी बनाउनेको सङ्ख्या बढ्यो


  • 244
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    राहदानी बनाउनेको सङ्ख्या बढ्यो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ । 

    उक्त सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार ८ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो सङ्ख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको सङ्ख्या ८ हजार ८ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको थापामगर बताए । 

    आर्थिक बर्ष २०७९÷८० को साउनमा १ हजार ८२ महिला र १ हजार ४ सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र १ हजार १ सय ४६ पुरुष, असोजमा ४ सय १८ महिला र ७ सय १२ पुरुष, कात्तिकमा ४ सय २१ महिला र ७ सय ९१ पुरुष, मङ्सिरमा ४ सय ८ महिला र ७ सय ८८ पुरुष तथा पुसमा ६ सय १५ महिला र १ हजार १ सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ ।  
     
    यस्तै माघमा ६ सय ५२ महिला र १ हजार १ सय ३ पुरुष, फागुनमा ६ सय ५८ महिला र १ हजार एक सय ८८ पुरुष, चैतमा ८ सय ९५ महिला र १ हजार ५ सय ३३ पुरुष, वैशाखमा ७ सय ६७ महिला र १ हजार २ सय ६३ पुरुष, जेठमा १ हजार ६३ महिला र १ हजार ५ सय ६३ पुरुष तथा असारमा ७ सय ८३ महिला र १ हजार १ सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै १ सय ९८ नाबालकको सिफारिस गरिएको तथ्याङ्क छ । 

    आर्थिक बर्ष २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आर्थिक बर्षको भन्दा झण्डै दोब्बर राजस्व सङ्कलन भएको थियो । आर्थिक बर्ष २०७९/८० मा ८ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आर्थिक बर्ष २०७८/७९ मा ४ करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  


    images
    images

    Logo