काठमाडौं । काठमाडौं जिल्लामा आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुर अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ७१५ बैंकिङ कसुरका मुद्दा दर्ता भएकोमा यस वर्ष उक्त संख्या बढेर ७ हजार १०१ पुगेको हो ।
यसमध्ये आव २०७९/८० मा २ हजार ८९४ वटा अभद्र व्यवहार सम्बन्धी मुद्दाहरु दर्ता भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भएको २ हजार ३१६ भन्दा २५ प्रतिशतले बढी हो ।
त्यस्तै, चोरी सम्बन्धी मुद्दाहरु पनि हालै अन्त्य भएको आर्थिक वर्षमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४६० वटा चोरी सम्बन्धी मुद्दाहरु दर्ता भएकोमा २०७९/८० मा सो संख्या बढेर ६४७ पुगेको छ । लागु औषधसम्बन्धी मुद्दाहरु ३३९ बाट बढेर ३६८ पुगेका छन् । सवारी ज्यान तथा अंगभंगसम्बन्धी मुद्दाहरु पनि बढेर १७३ बाट १८९ पुगेको छ ।
तर, ठगी, महिला तथा बालबालिका सम्बन्धी कसुर, कर्तव्य ज्यान सम्बन्धी मुद्दा भने तुलनात्मक रुपमा घटेका छन् । आर्थिक वर्ष २०७८/७९ मा क्रमशः ८१२, ३८२ र ३७ वटा मुद्दा दर्ता भएकोमा ७९/८० मा उक्त संख्या घटेर क्रमशः ४१४, ३२६ र २७ पुगेको छ ।
आत्महत्या गर्नेको संख्या १६ ले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या सम्बन्धी ३४१ वटा मुद्दाहरु दर्ता भएका थिए । जुन ७९/८० मा बढेर ३५७ पुगेको छ । ती मध्ये १० वटा १८ वर्ष मुनिका, ५६ वटा १९ देखि २५ वर्ष सम्मका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
त्यस्तै, २६ देखि ३५ वर्षबीचको १२६ वटा आत्महत्याका मुद्दाहरु दर्ता भएका छन् । १११ वटा मुद्दा ३६ देखि ४५ वर्ष बीचको, ४६ देखि ६० वर्षसम्मको ४८ वटा र ५ वटा ६० वर्ष माथिकाको रहेको जनाइएको छ ।



