images
images

संघीय राजश्व ५४% घट्दा पनि काठमाडौं महानगरको बजेट प्रगति ९८%


  • 429
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    संघीय राजश्व ५४% घट्दा पनि काठमाडौं महानगरको बजेट प्रगति ९८%

    काठमाडौं । लक्षित राजश्व नउठेर संघीय सरकारको ट्रेजरी संकटमा परेको बेला काठमाडौं महानगरपालिकाले लक्ष्यभन्दा २० प्रतिशत बढी राजश्व उठाएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा कुल ५ अर्ब ८२ करोड रुपैयाँ राजश्व संकलन गरेको हो । यो लक्ष्यभन्दा ९७ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३६ करोड रुपैयाँ बढी हो । 

    त्यस्तै, आन्तरिक अनुदानतर्फ महानगरपालिकाको प्रगति ११९ प्रतिशत भएको छ । उक्त शीर्षकतर्फ कुल २ अर्ब १५ करोडको लक्ष्य राखिएकोमा आर्थिक वर्ष सकिँदा २ अर्ब ५६ करोड रुपैयाँ आम्दानी भएको हो । लक्ष्यभन्दा बढी अनुदान प्राप्त भए पनि अघिल्लो वर्षको तुलनामा यस्तो अनुदान २ करोड १२ लाख रुपैयाँले कम हो । 

    यद्यपि संघीय तथा प्रदेश सरकारबाट बाँडफाँट हुने रकम घट्दा महानगरपालिकाको कुल बजेट प्रगति शतप्रतिशत हुन सकेन । महानगरपालिकाले यो अवधिमा कुल ९८.४१ प्रतिशत बजेट प्रगति हासिल गरेको छ । 

    यो वर्ष संघ तथा प्रदेशबाट बाँडफाँट भएर आउने रकम ३ अर्ब ४१ करोड रहने महानगरपालिकाको अनुमान थियो । तर, आर्थिक वर्ष सकिँदा यस्तो अनुदान १ अर्ब ८५ रुपैयाँ मात्रै प्राप्त भएको तथ्यांक छ । यो लक्ष्यको ५४.४६ प्रतिशत मात्रै हो भने अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ६८ करोड रुपैयाँले कम हो । 

    यो अवधिमा महानगरपालिकाले बहाल कर, सम्पत्ति कर, व्यवसाय रजिष्ट्रेसन दस्तुर लगायत बढी राजश्व संकलन हुने क्षेत्रको करमा उल्लेख्य प्रगति गरेको छ । घरबहाल करतर्फ २ अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा अन्तिम दिनसम्म २ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सम्पत्ति करतर्फ १ अर्ब लक्ष्य रहेकोमा १ अर्ब ८ करोड रुपैयाँ राजश्व उठेको छ । व्यवसाय रजिष्ट्रेशन शुल्कतर्फ ५५ करोड लक्ष्य रहेकोमा ५७ करोड रुपैयाँ राजश्व संकलन भएको महानगरपालिकाले जनाएको छ । 

    कुन वडाले कति उठाए राजश्व ?

    गत आर्थिक वर्षमा महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाले २० करोड भन्दा बढी राजश्व उठाएका छन् । त्यस्तै, ११ वटा वडाले १० देखि २० करोडसम्म राजश्व उठाउँदा बाँकी वडाको राजश्व १० करोड रुपैयाँभन्दा कम रहेको देखिएको छ । 


    सर्वाधिक राजश्व उठाउनेमा वडा नम्बर १ ले ३० करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै, वडा नं ३२ ले २७ करोड ८५ लाख, वडा नं ४ ले २५ करोड १९ लाख रुपैयाँ रहेका छन् । वडा नम्बर १९ ले सबैभन्दा कम ७८ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ ।


    images
    images

    Logo