images
images

डोलेश्वरमा भोलीदेखि श्रावणी मेला, सम्पूर्ण  तयारी पूरा


  • 386
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    डोलेश्वरमा भोलीदेखि श्रावणी मेला, सम्पूर्ण  तयारी पूरा

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वरमा श्रावणी मेला लाग्ने भएको हो । 

    केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर मन्दिरमा लाग्ने  मेलाको पुर्व शन्ध्यामा साउन १ गते बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्राको आयोजना गरिने छ । बस्नेतका अनुसार, साउन २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन हुनेछ । 

    त्यसैगरी साउन ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बाँस्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्मे वाचन हुने अध्यक्ष बस्नेतले बताए । समितिका अनुसार मेला अन्तरगत साउन १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन हुनेछ । यसैगरी साउन २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन वाचन गर्ने कार्यक्रम रहेकोे छ । त्यस्तै साउन २८ गतेदेखी भादै ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै बिभिन्न कलाकारबाट भजन किर्तन हुने अध्यक्ष बस्नेतले बताए ।

    भाद्र ६ गते विशेष कार्यक्रमका गरि मेलाको समापन गरिने समितिले जनाएको छ । डोलेश्वर महादेवलाई २०६६ साल भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ । मेला अवधीभर २ लाख ५० हजार भक्तजन डोलेश्वरको दर्शनार्थ आउने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए ।

     
    समितिका महासचिव हरिशरण बस्नेतका अनुसार,  मेला व्यवस्थापनका लागि स्थानीय स्वयम् सेवक, स्काउट, नेपाल रेडक्रस सोसाईटीका स्वयम् सेवक, नेपाल प्रहरी परिचालन गरिने छ । त्यसैगरी सोमवारको मेलामा भक्तजनका लागि सर्वतको व्यवस्था, स्वास्थ्य परिक्षणलगायतको व्यवस्था गरिनेछ । मेला सफल रूपमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको र ती समितिहरुले मेलाको लागि सम्पूर्ण तयारी पुरा गरेको महासचिव बस्नेतले बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर दर्शन गर्न आउने भक्तजनलाई धार्मिक पर्यटनसँग जोडेर स्थानीयको आय आर्जनसँग जोड्ने योजना वडाले बनाएको बताए। डोलेश्वरको पुजामा प्रयोग हुने फलफुल, धुपलगायतका वस्तु स्थानीय स्तरमा उत्पादन गरी प्रवद्र्धन गर्ने र यहाँका स्थानीयको जीवनस्तर उकास्न डोलेश्वर महादेवमा आउने भक्तजनलाई पर्यटनसँग जोडेर लैजाने योजना रहेको बस्नेतले बताए ।

    डोलेश्वर महादेव मन्दिरले भक्तपुर र राष्ट्रियस्तरमा मात्र नभई पछिल्लो समय अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै वडाध्यक्ष बस्नेतले त्यसको बिकास र बिस्तारमा वडा र नगरपालिका सधैं सहकार्य गरि अघि बढ्न तयार रहेको बताए ।

     


    images
    images

    Logo