images
images

८७ करोड २३ लाख बजेट खर्च हुन सकेन


  • 324
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    ८७ करोड २३ लाख बजेट खर्च हुन सकेन

    काठमाडौं । जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा ८७ करोड रुपैयाँभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड  २३ लाख १४ हजार रुपैयाँ बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताउनुभयो ।  

    यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि ५ अर्ब ६९ करोड १६ लाख ८१ हजार रुपैयाँ बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर १३ करोड ३२ लाख २६ हजार रुपैयाँ बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट ६० करोड ४० लाख ७८ हजार रुपैयाँमध्ये ४७ करोड ८ लाख ५२ हजार रुपैयाँ बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  

    सिगास गाउँपालिकाबाट ५० करोड २० लाख ९३ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७१ लाख ६ हजार रुपैयाँ खर्च हुन नसकेको  उक्त कार्यालयले जनाएको छ । सिगासले ४१ करोड ४९ लाख ८७ हजार रुपैयाँ रकम मात्रै खर्च गरेको छ ।

    सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ६७ करोड ६४ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ५८ करोड ९३ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ । उक्त नगरपालिकाले ८ करोड ७१ लाख २२ हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ ।

    पाटन नगरपालिकाबाट ७४ करोड १६ लाख ४१ हजार रुपैयाँमध्ये ६१ करोड ५८ लाख ५२ हजार रुपैयाँ मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले १२ करोड ५७ लाख ८९ हजार रुपैयाँ खर्च गर्न बाँकी रहेको छ  । यसैगरी पुर्चौंडी नगरपालिकाबाट ७१ करोड ६३ लाख ९६ हजार रुपैयाँ बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ । उक्त नगरपालिकाले ८ करोड ७७ लाख ६२ हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार रुपैयाँ बजेटमध्ये ४४ करोड ४४ लाख १६ हजार रुपैयाँ मात्रै खर्च गरेको र ७ करोड ९२ लाख रुपैयाँ खर्च गर्न बाँकी रहेको छ ।

    दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार रुपैयाँ बजेटमध्ये ४७ करोड ९२ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । उक्त गाउँपालिकाबाट ७ करोड ७७ लाख ६ हजार रुपैयाँ  खर्च बाँकी रहेको छ । 

    पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार रुपैयाँ बजेटमध्ये ३९ करोड ३९ लाख २९ हजार रुपैयाँ खर्च भएको र ८ करोड २९ हजार रुपैयाँ  खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको ४० करोड ४२ लाख ३२ हजार रुपैयाँमध्ये ३४ करोड १८ लाख ६२ हजार रुपैयाँ  खर्च भएको र  ६ करोड २३ लाख ७० हजार रुपैयाँ खर्च गर्न बाँकी देखिएको छ । 

    सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार रुपैयाँ बजेटमध्ये ४४ करोड २ लाख ७७ हजार रुपैयाँ खर्च भएको र ५ करोड २० लाख ४ हजार खर्च गर्न बाँकी रहेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । 

    समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उनले भने “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।”


    images
    images

    Logo