काठमाडौं । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा हंगामा मच्चिएको छ । सभामा शेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन नसकेका हुन् ।
शेयरधनीहरुले चर्को विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामा कम्पनीले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण शेयरधनी मध्येबाट १ जना र स्वतन्त्र संचालक १ जनाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो ।
संचालकहरुले शेयरधनीहरुलाई हेपेर पब्लिक कम्पनीको नीति नियमलाई लात हान्दै आफूखुसी सर्वसाधारण संचालक नियुक्ति गरेको भन्दै विरोध जनाएका थिए । संचालकको निर्वाचन प्रकृयामा शेयरधनीले निर्वाचनका लागि तोकिएको अवधिभित्रै आवेदन दिन कम्पनीमा जाँदा कम्पनी सचिवले उम्मेदवारी दर्ता गराउन कम्पनीको कम्तीमा ५ हजार कित्ता सेयर खरिद गरेको हुनु पर्ने भन्दै शेयरधनीलाई थर्काएर थिए ।
रजिष्ट्रर कार्यालयकाअनुसार पब्लिक कम्पनीको संचालक समितिको उम्मेदवारी दिन एक सय कित्ता शेयर हुनु पर्ने कानूनमा व्यवस्था छ । तर सचिवले आफूखुसी नियम बनाएर संचालक नियुक्तिमा सिन्डिकेट लगाएको आरोप शेयरधनीको छ । सभामा भत्ता बृद्धिको तीन महले प्रस्तावसहित नआई मौखिक रुपमा आएको भन्दै यो एजेण्डा पनि पारित हुन सकेन ।
करिब ५ घण्टा चलेको साधारणसभामा संचालक र शेयरधनीबीच भनाभन भएको थियो । सभामा कर्मचारी र शेयरधनीबीच हात हालाहालको अबस्था आएको थियो । सभामा कर्मचारीले शेयरधनीको आवाज दवाउन खोजेपछि शेयरधनी र कम्पनीका कर्मचारीबीच हात हालाहाल भएको हो ।
हातहालाहाल हुँदा एक जना शेयरधनी सामान्य घाईते भएका छन् । घाईते शेयरधनीको औलामा चोट लागेको छ । होहल्ला सामान्य भएपछि प्रस्ताव गरिएका एजेण्डाहरुमध्ये दुई एजेण्डाबाहेक अरु एजेण्डा पारित भएको सुनाउँदै आजको ३ महिनाभित्र साधारणसभा गर्ने बाँचा गर्दै कम्पनीका अध्यक्ष सुभाषचन्द्र संघई सभाहलबाट बाहिर निस्केका थिए । कम्पनीको संचालकमा अध्यक्ष सुभाष चन्द्र संघई, संचालकहरुमा त्रिलोकचन्द्र अग्रवाल, विरेन्द्रकुमार संघई, गोविन्दलाल संघई र अनुज अग्रवाल रहेका छन् ।



