काठमाडौं । प्रधानाध्यापकसहित ४ जना विरुद्ध विद्यालय परिसरको माटो उत्खनन गरेर इँटा भट्टालाई बेचेको आरोप लागेको छ । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्रको माटो बेचेर सरकारी सम्पत्तिको हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सुरेन्द्र बहादुर वोहरा सहित ४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
प्रधानाध्यापक सँगसँगै विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, न्यू भगवती ईटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथ ईटा उधोगका प्रोपराइटर धन बहादुर बिष्ट विरुद्द भ्रष्टाचारको मुद्दा लागेको छ ।
विद्यालय हाताभित्र आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा निस्किएको माटो सात लाख उनान्तीस हजार रुपैयाँमा बेचेका कारण उनीहरुविरुद्ध सरकारी रकम हिनामिना गरि भ्रष्टाचार गरेको आरोप अख्तियारले उनीहरुविरुद्ध लगाएको छ ।



