काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् ।
पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ ११ अर्ब २६ करोड १९ लाख १४ हजार ९ सय ९६ रुपैयाँ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार ६ सय १९ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए ।
यस्तै पुँजीतर्फ ४ अर्ब ४१ करोड ३ लाख ८८ हजार ४ सय ३८ रुपैयाँ मध्ये असार २४ गतेसम्म ३ अर्ब ६ करोड ८५ लाख ९३ हजार ६४ रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए ।
वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट ५ अर्ब ४४ करोड ५४ लाख ७९ हजारमध्ये असार २४ गतेसम्म ५ अर्ब १८ करोड ६१ लाख २२ हजार ९ सय ५० रुपैयाँ निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले २५ करोड ९३ लाख ५७ हजार रुपैयाँ बजेट खर्च गर्न नसकेको देखिन्छ ।
वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि १ अर्ब ५२ करोड १ लाख ५८ हजार रुपैयाँ रकम छुट्याइएकामा असार २४ गतेसम्म १ अर्ब ४७ करोड ६ लाख ९० हजार रुपैयाँ निकासा भएको छ । वीरगन्ज महानगरको ४ करोड ९४ लाख ६८ हजार रुपैयाँ खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ ।
पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको ३६ करोड २२ लाख २९ हजार रुपैयाँमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले ३४ करोड ३६ लाख १० हजार रुपैयाँ रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा १ करोड ८६ लाख १९ हजार रुपैयाँ खर्च गर्न सकेको छैन ।
त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको ३२ करोड ९४ लाख ९६ हजार रुपैयाँ वार्षिक बजेटमा ३१ करोड ३४ लाख ७१ हजार रुपैयाँ निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको ३९ करोड ६१ लाख ६ हजार रुपैयाँमध्ये ३७ करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए ।
पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको २९ करोड १९ लाख ३२ हजार रुपैयाँमध्ये २७ करोड ५२ लाख २ हजार रुपैयाँ मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको ३१ करोड ६६ लाख ९८ हजार रुपैयाँमध्ये २९ करोड ८१ लाख ८० हजार रुपैयाँ निकासा भएको जनाएको छ ।
धोविनी गाउँपालिकाले २३ करोड ९७ लाख ४३ हजार रुपैयाँमध्ये २२ करोड ८९ लाख ५ हजार रुपैयाँ निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको २२ करोड ३४ लाख २५ हजार रुपैयाँमध्ये २१ करोड १६ लाख ६२ हजार रुपैयाँ मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले २९ करोड ३ लाख ६५ हजार रुपैयाँ रकममध्ये २८ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।
विन्दवासिनी गाउँपालिकाले २५ करोड ३९ लाख ७९ हजार रुपैयाँमध्ये २४ करोड ३३ लाख ३४ हजार रुपैयाँ निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको ३५ करोड ३८ लाख २४ हजार रुपैयाँ मध्ये ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए।
कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको २४ करोड १५ लाख ३९ हजार रुपैयाँ रकममध्ये २२ करोड ९६ लाख ५४ हजार रुपैयाँ निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले २७ करोड ४५ लाख २० हजार रुपैयाँ वार्षिक बजेटमध्ये २४ करोड २५ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने ३४ करोड २५ लाख ६५ हजार रुपैयाँमध्ये ३३ करोड ३३ लाख ४० हजार रुपैयाँ निकासा लिएको कोलेनिकाले जनाएको छ ।
समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ ।



