images
images

दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारणमा जोडियो १२६ मेगावाट बिजुली


  • 635
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारणमा जोडियो १२६ मेगावाट बिजुली

    काठमाडौं । लमजुङस्थित दोर्दी कोरिडोरबाट १ सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका ५ आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

    दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको छ । 

    उनले भने, “हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न चार आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।” पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन् । 

    ती आयोजनामध्ये यस करिडोकै सबैभन्दा ठूलो आयोजना सुपर दोर्दी ‘ख’ आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक रुपमा बिजुली उत्पादन गरेको छ । आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमका अनुसार २०७१ सालमा विद्युत् खरिद सम्झौता –पिपिए गरी आयोजना निर्माण २०७२ सालअसोज महिनाबाट सुरु भएको थियो ।२०७५ सालमा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ । सुरुआतमा ८ अर्ब ८० करोड रुपैयाँ लगानी हुने भनिएको आयोजनामा लागत बढेर १० अर्ब ५० करोड रुपैयाँसम्म खर्च भएको बताइएको छ । 

    आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन् । कूल  ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धनको लगानी रहेको छ । आयोजनामा प्रभावित स्थानीयवासीले रु २७ करोड लगानी गरेका छन् । त्यस्तै २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । 

    २०७२ साल फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो । आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजना निर्माणमा ४ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको छ । 

    त्यस्तै, दोर्दी–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो । तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो । आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । 

    २०७४ साल मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो । आयोजना निर्माणमा ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लगानी भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२.१ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ ।
     
    २०७४ साल बाट थालनी गर्दै २०७६ साल चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा २ अर्ब रुपैयाँ भन्दाबढी लगानी भएको छ  । त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ । 

    यी आयोजना बाहेक जिल्लाकै ठूलो तथा पहिलो आयोजना बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी आयोजना, मस्र्याङ्दी गाउँपालिका–६ र ७ मा रहेको ५० मेवागाट क्षेमताको माथिल्लो मस्र्याङ्र्दी ए’ जलविद्यूत आयोजना लगायतका आयोजनाबाट समेत विद्युत् उत्पादन हुँदै आएको छ । मध्यमस्र्याङ्दी आयोजना सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माणकार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । कूल २७ अर्ब २० करोड रुपैयाँ रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो । 

    माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सन् २०१३ जनवरीबाट निर्माण थालनी गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्दै आएको छ । करिब १६ अर्ब रुपैयाँमा निर्माणकार्य सम्पन्न गर्दै विद्युत् उत्पादन थालेको यस आयोजना चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाल चितवन  कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको थियो ।


    images
    images

    Logo