काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दुई देशबीच विद्युत व्यापारका सन्दर्भमा दीर्घकालीन सम्झौता भएसँगै नेपालको विद्युत बजार सुनिश्चित भएको भन्दै इप्पानले अब पीपीए खुला गर्नुपर्ने बताएको हो ।
अहिले सरकारबाट लनइसेन्स पाएर पनि नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता नगरिदिँदा १० हजार ५०० मेगावाट भन्दा बढीका नीजि क्षेत्रबाट प्रवद्र्धन हुने आयोजनाहरु अघि बढ्न सकेका छैनन् । भारतले दीर्घकालीन व्यापार सम्झौतापछि आगामी १० वर्षमा १० हजार मेगावाटभन्दा बढी विद्युत खरिद गर्ने जनाएको छ । र त्यस्तै, बङ्गलादेशमा विद्युत निर्यातका लागि भारतीय भूमि प्रयोग गर्न दिनसमेत भारत सकारात्मक बनेको छ । यसले नेपाली विद्युतको क्षेत्रीय बजार सुनिश्चित भएको विज्ञहरुको भनाई छ ।
यसै सन्दर्भमा लामो समयदेखि रोकिएको पीपीए खुलाएर आयोजना निर्माण गर्ने वातावरण बनाउन विद्युत प्राधिकरणलाई निर्देशन दिन इप्पानले सरकारसँग माग गरेको हो ।



