images
images

हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट


  • 562
    SHARES
  • २०८० जेठ ६ गते शनिबार

    हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । 

    हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै एक दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त पुलमध्ये कमला पुल नयाँ ठेक्काबाट बनाउन लागिएको निर्देशनालयका प्रमुख चूणाराज ढकालले जानकारी दिए । धनुषा र सिरहा जिल्ला जोड्ने गरी बनाइएको पुल निर्माण सम्पन्न नहुँदै भासिएको थियो ।

    यसलाई नयाँ ठेक्कामार्फत निर्माण गरिने उनले बताए । रौतहट र सर्लाही जोड्ने वाग्मती पुल निर्माणको जिम्मेवारी पप्पु कन्स्ट्रक्सनलाई दिइएको भए पनि लामो समयसम्म अलपत्र रहेको थियो । उनले भने, “अहिले सो पुल नयाँ ठेक्कामार्फत अघि बढाइरहेको छ ।” 

    समस्याग्रस्त पुलमध्ये कतिपय पुलमा पुरानो ठेक्का अन्त्य गरिसकिएको र नयाँ ठेक्कामा जाने तयारी भइरहेको बताइएको छ । पप्पु र रमण जेभीले जिम्मेवारी लिएको नारायणी नदीको पुल निर्माण २०६९ सालमा सुरु भएको थियो । पुरानो ठेक्का अन्त्य भएपनि नयाँ ठेक्कामार्फत निर्माण अघि नबढेको प्रमुख ढकालले बताए । 

    सरकारले झापाको कन्काईमा २०६८ सालमा पुल निर्माण सुरु गरेको थियो । पप्पु महादेव जेभीले पुल निर्माण नगरेपछि आयोजनाले ठेक्का तोडेको उनले जानकारी दिए । कन्काई, कमला र वाग्मती, नारायणीलगायतका ठूला नदीमा पुल निर्माण सुरु भएको दशकौँ बित्दासमेत सम्पन्न हुन नसकेको हो । 

    यी पुराना ठेक्कामध्ये कतिपयमा कोभिडका कारण असर पुगेको र कुनैमा संयुक्त ठेक्कामा एउटाले छाडेर अर्कोले लिएको र कुनै कालोसूचीमा राखिएका कारण निर्माण अघि बढ्न नसकेकाले लामो समयदेखि अलपत्र रहेको प्रमुख ढकालले बताए । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । १ हजार ८ सय ५७ किमीमध्ये अहिलेसम्म ९ सय ५७ किलोमिटर कालोपत्र सकिएको छ । 

    खासगरी वन क्षेत्र र केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँमाबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ । पूर्वबाट पश्चिमसम्म कतिपय खण्डमा सडक सम्पन्न भइसकेर पनि पुल बनिनसकेकाले सडकसमेत प्रयोगमा आउन सकिरहेको छैन । 


    images
    images

    Logo