काठमाडौं । काँकडभिट्टा– सुनसरी सडक विस्तार गर्न एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई ३० करोड अमेरिकी डलर (आजको विनीमय अनुसार ३९ अर्ब ६३ करोड ६० लाख रुपैयाँ) ऋण दिने भएको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकाहीसम्म झण्डै ९५ किलोमिटर सडक स्तरोन्नतिका लागि एडीबीले बुधबार उक्त ऋण स्वीकृत गरेको हो ।
हाल दुई लेनको उक्त सडकलाई चार लेनको डेडिकेटेड सडकमा स्तरोन्नति गरि एशियाली राजमार्ग स्तरको बनाउने योजना छ । दक्षिण एशियाका लागि एडीबी यातायात विशेषज्ञ सिन वाइ चोङका अनुसार पूर्व पश्चिम राजमार्गको नजिकै रहेको उक्त परियोजना दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) करिडोरको एक हिस्सा हो ।
‘एसएएसईसीले क्षेत्रीय सहयोग प्रयासहरुसँग मिलेर मापदण्डअनुसारको पूर्वाधार, परिष्कृत जडान र सुरक्षित सडक सञ्जाल निर्माण गर्न सहयोग गरि सीमावर्ती व्यापार र ग्रामीण जनसंख्याको जीवनको गुणस्तरमा सुधार ल्याउन मद्दत गर्नेछ’ उनले भने ।
काँकडभिट्टादेखि लौकाहीसम्म रहेको दुई लेनको कम्तीमा ९५ किलोमिटर सडकलाई चार लेनको दोहोरो राजमार्गमा परिणत गरिनेछ । उक्त योजनाले थर्मल–प्रतिरोधी फुटपाथ, बाढी–प्रुफिङ विशेषता भएका पुल जस्ता पूर्वाधार निर्माण गरि जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको विपत्तिको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ । त्यस्तै, योजनाअन्तर्गतका ट्राफिक सिग्नल राख्ने, सडक बत्ती भएको फुटपाथ बनाउने, आकाशेपुल बनाउने र बसस्टपमा बत्ती राख्ने जस्ता कार्यले सडक सुरक्षामा सुधार हुने जनाइएको छ ।
आयोजनाले जलवायु तथा विपद् प्रतिरोधी रणनीति, सडक सम्पत्ति व्यवस्थापन, सडक सुरक्षा र आयोजना व्यवस्थापन र कार्यान्वयनमा सडक विभागको क्षमता अभिवृद्धि गर्नेछ । यातायात सुरक्षा, स्वास्थ्य तथा सरसफाई र मानव बेचबिखन सम्बन्धी सामुदायिक चेतनामूलक कार्यक्रमहरू समेत उक्त योजनाअन्तर्गत सञ्चालन हुने जनाइएको छ । त्यस्तै, सेवाहरुमा पहुँच बढाइ गतिशिल बनाउन महिला तथा अन्य अल्पसंख्यक समूहहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरुसमेत सञ्चालन गरिने जनाइएको छ ।
३० करोड डलर बाहेक नै पनि एडीबीले आफ्नो प्राविधिक सहायता कोषबाट थप ७ लाख ५० हजार डलर दिनेछ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन सम्बन्धी सडक परियोजनाहरूका लागि दीर्घकालीन कार्यसम्पादनमा आधारित मर्मतसम्भार र दिशानिर्देशहरूमा प्रयोगकर्ता पुस्तिकाहरू सिर्जना गर्न उक्त रकमको प्रयोग हुनेछ ।
उक्त सडक निर्माणले नेपालसँग भारत र बंगलादेशको व्यापार थप सहज हुने विश्वास लिइएको छ ।



