images
images

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग


  • 353
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

    काठमाडौं । लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतकोे जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग गरिएको  कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

    उक्त सडकमा गण्डकी प्रदेश सरकारले ४ वर्षअघि नमूना सडक कार्यक्रमअन्तर्गत स्तोरन्नतिसहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो । पटक पटक योजना सम्पन्न गर्न म्याद थप भएता पनि हालको मितिसम्म लिखित, मौखिक तथा फोन सम्पर्क गर्दा निर्माण कम्पनीबाट कुनै प्रतिक्रिया नआएको र कार्य प्रगति सन्तोषजनक नभएपछि कार्यालयको ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरिएको छ ।

    उक्त सूचना भनिएको छ, ‘ठेक्का सम्झौता शर्त बमोजिम कार्य सम्पादन जमानत रकम तथा अग्रिम बैंक जमानत रकम जफत गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ बमोजिम र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ मा भएको प्रावधान बमोजिम कालो सूचीमा राख्नेसम्बन्धी कारबाही अगाडि किन नबढाउने ?’
     
    उक्त योजना जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पेटी ठेक्का संझौता गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष भइसकेका व्यक्तिले योजना अलपत्र पारेको भन्दै स्थानीयवासी दुई महिना अघि ठेकेदारको फोटोसहित विरोध प्रदर्शनमा उत्रिएका थिए । योजना अलपत्र पारेर ठेकेदार बेपत्ता भएको उनीहरूको गुनासो थियो ।

    समयमै सडक योजना सम्पन्न नहुँदा सर्वसाधरणहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको र यहाँका बासिन्दाको घर, खानेपानी, विद्यालय पहिरोको जोखिममा परेको स्थानीयवासी दिपक आचार्यको भनाइ थियो । सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भूक्षयको समस्या बढेको उनको गुनासो थियो ।
     
    हाल नुवाकोटको क्षेत्र (ख) बाट निर्वाचित नेपाली कांग्रेसको बागमती प्रदेशसभाको संसदीय दलको नेतासमेत रहनुभएका बहादुरशिंह लामा सञ्चालक रहेको सो कम्पनीले दुई वर्षभित्र निर्माण सक्नेगरी २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा १० किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

    पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडकमा कतिपयक काम सम्पन्न भएर मिलन चोकदेखि सल्यान खण्डमा ग्राभेल गरेर कालोपत्रको तयारी गरिए पनि वर्षात्का समयमा आएको बाढी र पहिराले बगाएर लगेको थियो ।


    images
    images

    Logo