images
images

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा ६ प्रतिशत प्रगति


  • 326
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा ६ प्रतिशत प्रगति

    काठमाडौं । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा ६.०५ प्रतिशत प्रगति हासिल भएको छ । 

    तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा छ दशमलव शुन्य पाँच प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वीखण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ ।

    मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले यो खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए । साथै सबवेश र फेसको काम पनि सुरु गर्न लागिएको सुवेदीले बताए । 

    उक्त खण्डमा विद्युत्का खम्बा स्थानान्तरणको कामले समस्या भए पनि उक्त समस्या समाधान हुँदै गएको सुवेदीले बताए। पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको तयारी गरिएको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै ७ किलाेमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । 

    विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले अब कालोपत्रको काम सुरु हुने जानकारी दिए । उनका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भने । 

    यस्तै जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको प्रगति न्यून रहेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको र अब विस्तारै कामको गति बढ्ने श्रेष्ठले बताए। 

    पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किलोमिटर यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ सालवैशाखसम्म रहेको छ ।

    पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल भदौसम्म रहेको छ । 

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । 

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 


    images
    images

    Logo