images
images

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर दोर्दीको ५४ मेगावाट बिजुली


  • 363
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर दोर्दीको ५४ मेगावाट बिजुली

    काठमाडौं । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

    “पिपुल हाइड्रोपावर कम्पनीले  निर्माण गरेको सो  आयोजनाबाट उत्पादित बिजुलीको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो” । 'आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भने, “हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा २/ ३ पटक पानी हालेर परीक्षण गर्यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।'

    “अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,” उनले भने, “५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।” प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो । 

    २०७१ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) गरी २०७२ साल असोज महिनादेखि  निर्माण थालेको यस आयोजनाले सम्झौताअनुसार २०७५ सालमा निर्माण सम्पन्न गर्नु गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै २०७७ साल असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ साल असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन । 

    आयोजनाका अनुसार यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी–पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएकोे थियो । आयोजनाको ५.१ किलोमिटरको मुख्य सुरुङ छ । त्यस्तै सबै गरेर १० दशमलव ३ सय ५० किलोमिटर सुरुङ मार्ग रहेको छ । 

    कूल ८ अर्ब ८० करोड रुपैयाँको लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा  निर्माण अवधि लम्बिँदा करिव १० अर्ब ३९ करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्म लागत पुगेको छ । उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका थिए ।  सत्तरी प्रतिशत ऋण लगानी र बाँकी  प्रवद्र्धन लगानीमा आयोजना निर्माण भएको हो । आयोजनाबाट असर पर्नसक्ने जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी रहेको छ ।

    पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने (पिपिए) सम्झौता गरेको छ । 

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने बताएका छन् । 


    images
    images

    Logo