काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको अन्तिम खेल आज हुँदैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान साढे ९ बजेदेखि खेल सुरु हुन लागेको हो । यसमा घरेलु टिम नेपाल र यूएई भिड्दैछन् । उक्त खेलमा यूएईले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छ ।
आजको खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा छ । आजको खेल जितेमा नेपाल पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको छनौट चरणमा पुग्नेछ । यो अहिलेसम्मकै ठूलो सफलता हो ।
यो लिग खेलेक उत्कृष्ठ ५ टिमले एकदिवसीय मान्यता पाउने र उत्कृष्ठ ३ टिमले विश्वकप छनौट खेल्न पाउने व्यवस्था गरिएको छ । अहिले नेपाल ३८ अंकसहित चौथो स्थानमा हुँदा नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल ४० अंकसहित तेस्रो स्थानमा आउँछ ।
उता यूएईलाई भने आजको खेल जित्नु वा हार्नुको खासै ठूलो अर्थ छैन । ३३ अंक रहेको यूएईले आजको खेल जितेमा ३५ अंक बनाउँदै अमेरिकासँग अंक बराबरी गर्नेछ । तर हेड टू हेडको आधारमा पछि रहँदा यूएईले एकदिवसीय मान्यता समेत जोगाउन सक्ने छैन ।



