काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक अन्य १० वटा निर्णय गरेकाे छ । सरकारले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको हो ।
१ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको मृत्यु भएको थियो । सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो ।
यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक बाहेक विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै, तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको छ भने रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
सरकारले काेशी पम्प चन्द्र नहरकाे प्रणालीमा सुधारकाे लागि जग्गा प्राप्तिकाे गर्ने निर्णय गरेकाे छ ।




