काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए । मतदानमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएका थिए भने नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।



