काठमाडौं । आगामी वैशाख १० गते आइतबार सम्पन्न हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार तोकिएको सयमभित्र १८ दल दर्ता भएका हुन् ।
यसरी दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी रहेका छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली काँग्रेस (बी.पी.), जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । यसरी दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार दर्ता भएका राजनीतिक दलहरूलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिने छ भने बैशाख १० को उपनिर्वाचनमा गत मसिंर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने आयोगले जनाएको छ ।



