काठमाडौं । विभिन्न मितिमा हराएका २३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिएका हुन् ।
यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सवारी साधन हराएको भनी १ हजार १ सय ६२ ओटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३ सय ५३ ओटा सवारी साधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २३ ओटा सहित ३ सय २८ ओटा दुई पाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनीको जिम्मा लगाई सकेको छ ।
यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ ओटा मोटरसाइकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा बुझाइएको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको छ ।
यस्तै यही आर्थिक वर्षमै धनी नखुलेका ९५ ओटा दुई पाङ्ग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ ओटा सवारी साधन बुझाइएको हो ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनी स्वयंले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्नको लागी पनि ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक काफ्लेले अनुरोध समेत गरेका छन् ।



