काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारले सोमबार (फागुन २२) देखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ। यो योजना सोमबारदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि सुरू भइसकेको छ। पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको हो।
यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् ।
कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ ।विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ ।
साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।
पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिन्छ । केवलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ । रमणीय दृश्यावलोकनका साथै अन्नपूर्णसहित विभिन्न हिमाललाई यो क्षेत्रबाट नजिकबाट नियाल्न सकिन्छ । केवलकार कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको जनाएको छ ।
बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ ।अन्नपूर्ण केवलकारले यसअघि पनि विभिन्न छुट प्रदान गर्नुका साथै यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको थियो । स्वेदशी तथा विदेशी पर्यटक यसबाट पनि लाभान्वित भइरहेका छन् ।



