काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता गरे ।
उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए। महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे ।
उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए । उनले नेपाली काँग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल ज्वरो हटाउने काम गर्ने बताए । उनले अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताए ।
उनले भने, ‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । सबल पक्ष र दुलर्वपक्षहरु पनि रहेका छन् । १९९८बाट अर्थतन्त्र बिस्तारै खुला हुन थालेपछि १९९०मा अझ खुला हुँदै गयौं । त्यो बीचमा विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आउँदा एउटा ढाँचाबाट चल्दै आएका छौं । संरचनागत समस्याहरु छन् ।
नेपालमा १८ हजार युवालाई रोजगारी सिर्जना गर्छौं । वार्षिक ५ लाख युवाहरु श्रमरोजगारको क्षेत्रमा आउँछन् । लाखौं युवाहरु विदेशमा गएका छन् । विदेशमा गएर युवाहरुले पठाएको रेमिट्यान्सबाट आयात गर्ने,सरकारी खर्च गर्न समेत रेमिट्यान्सबाट गर्नुपर्ने संरचना छ । अर्थतन्त्रको संरचना परिवर्तन नगरी कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ ।
अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराईहाल्नुपर्ने अवस्था छैन । पछिल्लो समय अर्थतन्त्रका सन्र्दभमा संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्न पछाडि छोड्दै जाने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ ।
अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले गर्नसक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रम सँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद अधिवेशनबाट नेपाल ऐनकोमार्फत २२/२४ कानून सजिलै पास गर्नसक्छौं ।’
महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए। उनले केही महत्वपूर्ण २२/२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताए ।-न्युज एजेन्सी नेपाल



