images
images

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी


  • 303
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

    काठमाडौं । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले  ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । 

    जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमासमेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

    कक्ष ६ देखि १० सम्मका पाँच वटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्य सामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामासमेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यामिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिए । ल्यापटपबाट विद्याथी  पढाउन शिक्षकले तालिम लिइराखेको मल्लले जानकारी दिए । 

    “केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ उहाँहरुले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइराख्नुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाइसमेत सिकाउनुभएको छ”, मल्लले भने ।  कम्तिमा दैनिक दुई पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ । 

    नगरपालिकाको ८ लाखबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको पाँच वटा स्मार्ट टिभी र आठ वटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थी भन्दा गुणस्तर बढाउने तर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताए ।


    विद्यालयमा हाल एक सय ४६ विद्यार्थी छन् । “ बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष थापाले भने । यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टिभि जडान गरिएको छ । विद्यालयको भौतिक सुरधारमासमेत अहिले व्यवस्थापन समिति लागेको छ ।

    डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ । विद्यालयमा कक्षाकोठा अभाव भए पनि दुईवर्ष अघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो । 

    यस्तै चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु। ५० लाखमा चार कोठे सुविधा सम्पन्न विद्यालय भवन बनाउन सुरु गरिएको छ । 

    चार कोठे विद्यालय भवन निर्माण पश्चात विद्यालयको कक्षाकोठाको समस्या समाधान हुनेछ भने विद्यालयको तारबार र प्रवेशद्वार निर्माण गरिने विद्यालयको लक्ष्य रहेको छ । बागलुङ नगरपालिकाले माध्यमिक विद्यालयमा एक ल्यापटप एक शिक्षक कार्यक्रम र स्मार्ट  टिभी जडान कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । 


    images
    images

    Logo