काठमाडौं । ट्राफिक प्रहरीले हिजो अथात् होलीको दिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने २ हजार ५ सय ५६ जना चालकलाई कारवाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।
कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ४ सय २६, लेन अनुशासन पालना नगर्ने ९, रातो बत्ती नमान्ने ६१, हर्न बजाउने १४, नम्बर प्लेट मेटिएका २७, लिडारगन १ सय ४ जना र अन्य १ हजार ५ सय १४ जनालाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको छ ।