काठमाडौं । नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई २३० रनको लक्ष्य दिएको छ । भिम सार्कीको अर्धशतकीय पारीसंगै नेपालले यूएईलाई २३० रनको मध्यम लक्ष्य दिएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल बनाएको हो ।नेपालको ब्याटिङमा भिम सार्कीले ९९ बलमा ७ चौकाको मद्वतमा सर्वाधिक ७० रन बनाए ।
आरिफ सेख ५६ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा अविजित रहे ।कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएउँदै नेपालको इनिङ सम्हालेका थिए । सन्दीप २७ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन, आरिफ शेख ६ रनमा पभेलियन फर्किए । प्रतिश जिसी ११ रनमा अविजित रहे ।
यूएईका जुनाइद सिद्दिकीले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । रोहन मुस्तफा र आर्यन लार्काले समान दुई विकेट लिँदा कात्तिक मियाप्पनले एक विकेट लिए । शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपाललाई आजको खेलमा यूएईलाई पराजित गर्नुपर्ने दबाव छ ।



