images
images

मर्यादित बन्दै होली, बसन्तपुरमा होलीको रौनक


  • 255
    SHARES
  • २०७९ फाल्गुण २२ गते सोमबार

    मर्यादित बन्दै होली,  बसन्तपुरमा होलीको रौनक

    काठमाडौं ।  विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । 
     
    काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।
     
    खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो । अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।
      
    सपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ । 
     
    केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ । पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।
      
    विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन ।

    बिहानैदेखि वसन्तपुरमा विशेष चहलपहल

    यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेषरुपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन् । वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । 
       
    फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । 
      
    त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ । 
      
    यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । 
     
    राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । 
     
    फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।

     २७ हजार सुरक्षाकर्मी परिचालन 

    फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले रासससलाई जानकारी दिए । 

    होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन । राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमित बाहेक पनि ६६ भन्दाबढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ ।
     
    यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताउनुभयो । अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले यिनन्त्रणमा लिएको छैन । सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन् । समग्रमा फागुपूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ ।


    images
    images

    Logo