काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । रंगको पर्व होली मनाउन सुरु भएसँगै आज बिहानैदेखि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादकपदार्थ तथा भांङ खाएर सवारीसाधन चलाउँने सम्भावना भएकाले चेकजाँचमा कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसंगै दुर्घटना न्युनिकरण हुने अपेक्षा लिएको छ ।
काठमाडौंका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखानालगायत स्थानमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । त्यसैगरी ललितपुरको बालकुमारी, जाउलाखेल, लगनखेल, कुपोन्डोल, सातदोबाटो, सानेपा लगायतका स्थानमा चेकजाँच गरिएको छ ।
त्यस्तै भक्तपुरका लोकन्थली, गठ्ठाघर, सल्लाघारी, सानोथिमि, जगाती लगायतका स्थानमा बिहानैदेखि चेकजाँच अघि बढाइएको छ । स्थानीय प्रसासन र नेपाल प्रहरीले यसअघिनै सुचना जारी गरेर सतर्कतापुर्वक होली खेल्न आग्रह गरेको थियोे ।



