कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ सदस्यको विश्वासको मत पाएका छन् । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यको विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश सभामा मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।
५३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । शाहले विश्वासको मत पाएसंगै सुदुरपश्चिममा मन्त्री परिषद बिस्तारको बाटो खुलेको छ ।



