images
images

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा


  • 252
    SHARES
  • २०७९ फाल्गुण २१ गते आइतबार

    जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

    काठमाडौं । जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । 

    २०७८ साल चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् । सो मार्गमा सञ्चालित  दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। उनले भने, “रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।”

    दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा १५ लाख रुपैयाँ र गत आर्थिक बर्षमा ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ । 

    “दुवै रेलको बीमाका लागि  एक करोड ८० लाख आवश्यक पर्छ”, रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । झाले भने, “एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ ।”

    जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो । 

    उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखौँ रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन ।


    images
    images

    Logo