काठमाडौं । राष्ट्रिय प्राथमिकताका क्षेत्रमा चीनबाट आउने लगाानीलाई नेपालले स्वागत गर्ने भएको छ । मंगलबार चीनका लागि नेपाली राजदूतावासद्वारा आयोजित ‘नेपालमा लगानी र पर्यटनका अवसरहरु’ विषयक गोष्ठीमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले चिनियाँ लगानी स्वागत गर्नेबारे उल्लेख गरेका हुन् ।
नेपाल लगाानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको भन्दै राजदूत श्रेष्ठले ऊर्जा, कृषि, पर्यटन, खानी, खनिज, पूर्वाधार, सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रमा चीनको लगाानी स्वीकार गर्ने बताएका थिए । ‘चीन नेपालको एक विश्वसनीय छिमेकी र भरपर्दो विकास साझेदार हो ।’ चीन नेपालको पर्यटनको सबैभन्दा ठूलो स्रोत मात्र नभई सबैभन्दा ठूलो व्यापार र लगानी साझेदार समेत रहेको उनले बताए ।
नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको देश बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य हाँसिल गर्न नेपालको पुँजी, प्रविधि, ज्ञान र सीप अपर्याप्त रहेको बताउँदै उनले चीनसँग लगाानीका लागि साझेदारी गर्न अनुरोध गरेका हुन् ।
लगाानी आकर्षित गर्न नेपाल सरकारले उदार र लगाानीमैत्री नीतिनियम अपनाएको श्रेष्ठले बताए । लगाानी तथा प्रविधि हस्तान्तरण ऐन २०१९, चीन लगायत ११ देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता, चीनसँगको पारवाहन तथा यातायात सम्झौता आदि नीतिनियम सरकारले अपनाएको छ ।
‘परस्पर लाभ, समानता र दिगोपनाका सिद्धान्तका आधारमा छिमेकी मुलुकको आवश्यकताअनुसार व्यक्तिगत कम्पनी वा संयुक्त उद्यमबाट आयोजनाहरूमार्फत लगानी गर्न सकिन्छ । साथै स्थानीय मागलाई दिगो रुपमा सम्बोधन गरी साना तथा मझौला आयोजनाको विकास गर्न सकिन्छ,’ उनले भने ।
अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदाको धनी नेपालमा, पर्यटकीय स्रोतको खोजी गरी थप लगाानी आकर्षित गर्न सकिने उनले बताए । पदयात्रा, पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाईडिङ लगायतका साहसिक गतिविधिको अनुभव समेत लिन सकिने उनले बताए ।
गोष्ठीमा श्रेष्ठले नेपाल र चीनबीच सन् १९५५ अगस्टमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र गहिरो द्विपक्षीय सम्बन्ध रहेको बताए ।



