images
images

भन्सार नाकामै रोकिए ३ हजार बढी गाडी


  • 467
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    भन्सार नाकामै रोकिए ३ हजार बढी गाडी

    काठमाडौं । विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन् । 

    देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै थन्किएको उनीहरूको भनाइ छ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार नाकामा गाडी थन्कने क्रम बढ्न थालेको जनाएको छ । नाडाका अध्यक्ष धुव्र थापाले बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा भन्सार नाकामा गाडी रोकिएको बताए ।

    विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले गत वैशाख १३ गतेदेखि चारपाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउनु अगाडिदेखि नै भन्सार नाकामा सार्वजनिक सवारी (प्यासेन्जर भेकल) थन्किएको उनले जानकारी दिए । “प्रतिबन्ध लाग्नु अघिदेखि नै केही व्यवसायीले गाडी छुटाउन सक्नुभएको थिएन, अहिले थपिँदै तीन हजारभन्दा बढी भइसकेको छ”, उनले भने, “तत्काल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाइ नहट्दासम्म गाडी ल्याउन सक्ने क्षमता व्यवसायीमा छैन ।”

    उनका अनुसार वीरगञ्ज र भैरहवा भन्सार कार्यालयमा सबैभन्दा धेरै गाडी रोकिएको छ । “एउटा गाडी छुटाउन ३५ लाखदेखि एक करोडसम्म भन्सार शुल्क पर्छ, धेरै गाडी छुटाउन सक्ने अवस्थामा हामी व्यवसायी छैनाँै, बैंक तथा वित्तीय संस्थाले लोन नदिएसम्म गाडी ल्याउन सकिँदैन”, उनले भने । नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था ७५ प्रतिशतमा नल्याएसम्म सवारी साधनको खरिद बिक्रीमा कुनै सुधार हुन नसक्ने उनको भनाइ छ ।

    नाडा महासचिव सुरेन्द्रकुमार उप्रेती सरकारले चार पाङ्ग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध हटे पनि गाडी आयात हुन नसकेको बताउँछन् । नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप तथा भ्यान आयातमा ठूलो कटौति भएको जानकारी दिए । गत वर्षमा वार्षिक रुपमा १८ हजारभन्दा बढी गाडीहरु भित्रिने गरेकामा हाल आठ हजार हारहारीमा मात्रै भित्रिएको छ ।

    उनले नेपाल भित्रिएका ८५ प्रतिशत गाडी बैंक तथा वित्तीय संस्थाबाट ऋण उपलब्ध हुने गरेको भन्दै अटो लोनमा गरिएको कडाइ तत्काल हटाउन आग्रह गरे । नाडाले चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाको संशोधनका लागि आग्रह गर्दै आएको छ ।
     
    देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे आठ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

    निर्माता कम्पनीको दबाब

    पछिल्लो समय नयाँ गाडी खरिदका लागि गाडी निर्माता कम्पनीबाट दबाब आउन थालेको व्यवसायीले बताएका छन् । महासचिव उप्रेतीले गाडी निर्माता कम्पनीले गाडी खरिद गर्न दबाब दिने गरेको जानकारी दिए । “यसअघि सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएको छ भनेर गाडी निर्माता कम्पनीलाई भन्न हामीलाई सहज थियो, आयात प्रतिबन्ध खुल्यो, गाडी किन्ने ग्राहक छैनन्, बैंकबाट सहज रुपमा कर्जा पाइएको छैन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी बिक्री भएन”, उनले भने, “भन्सारमा रोकिएका गाडी त छुटाउन सकिएको छैन, नयाँ कसरी ल्याउने ?”

    “बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाइ गर्दा नयाँ गाडी खरिद गर्नेलाई समस्या भयो, नगद पैसा तिरेर गाडी किन्ने न्यून छन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो”, उनले भने ।


    images
    images

    Logo