काठमाडौं । नेपाल सरकारको फागुन ११ गते विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ वटा निणर्यहरु गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठक नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।
२०७९ चैत्र १३ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने १० औं एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलवभेण्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई स्वीकृती दिने निर्णय गरेको छ ।
सरकारले २०७९ चैत्र १ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने प्रमोटिङ डिसन्ट इम्प्लोयमेण्ट फर वुमेन थ्रोउज इन्क्लुसिभ ग्रोथ पोलिसेस एण्ड इन्भेषमेण्ट इन द केयर इकोनोमि विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयाललाई स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, चालु आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ भने , मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णय उपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्याण्डस्थित नेपाली राजदुतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानूनी प्रतिरक्षा सम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय गरेको छ ।
सरकारले बहराइनस्थित इशा अवार्ड ट्रस्टले प्रदान गरेको इशा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड डा। सन्दुक रुइतलाई ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै सरकारले २०७९/११/१७ गते सुडानमा हुने फम्र्ड पुलिस युनिट (एफ.पि.यु) को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले २०७९ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिट मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने, संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको छ ।
त्यस्तै सरकारले २०७९ फागुन २३ देखि २५ सम्म जर्मनीको बर्लिन शहरमा आयोजना हुने इनटरनेशन टुरिजम बोर्स (आइटिबी) बर्लिन २०२३ पर्यटन बेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सहभागी हुन स्वीकृति दिने गरेको छ ।
सरकारले राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणमा कानून सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले लोक सेवा आयोगको सिफारिस बमोजिम स्वास्थ्य सेवाको एघारौँ तहमा २ जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।



