images
images

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन


  • 409
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

    काठमाडौं । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । 

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । 

    मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । 

    नेपालको संविधानमा नेपालमा १ राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास हुँदै आएको छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । 

    राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को ३ सय ३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८१ कायम छ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यको मतभार फरक हुने भएकाले सो व्यवस्था गरिएको हो । 

    धारा ६२ (१) मा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार सङ्घीय कानुनबमोजिम फरकफरक हुने उल्लेखित छ । 

    सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई सङ्घीय संसद्का सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर सङ्घीय संसद्का सदस्यको मतभार निकालिन्छ । 

    कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई प्रदेशसभा सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि १ हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ ।

    राष्ट्रपतिको उम्मेदवार बन्न ५/५ जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् । 
     
    बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनःमतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । 

    संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ ।

    सङ्घीय संसद्का सदस्यको कूल मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको कूल मतभार २६ हजार ४ सय हुन आउँछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र २ पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । 

    सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुनेछ । 

    संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

    नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन २०६५ साल साउन ४ गते भएको थियो । उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका ५ सय ९४ सदस्य मतदाता भए तापनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण ५ सय ७८ सदस्यले मात्र मतदान गरेका थिए । उक्त निर्वाचनमा डा. रामवरण यादवले २ सय ८३ र रामराजाप्रसाद सिंहले २ सय ७० मत मत प्राप्त गरे ।

    प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले ३ सय ८ र सिंहले २ सय ८२ मत प्राप्त गरेका थिए । यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

    राष्ट्रपतिको पछिल्लो २०७४ सालमा भएको निर्वाचनमा सङ्घीय संसद्का ३ सय २६ र प्रदेशसभा सदस्य ५ सय ३६ जनाले मतदान गरेका थिए । उक्त निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २ सय ७५ र कुमारीलक्ष्मी राईलाई ११ हजार ७ सय ३० मतभार प्राप्त गरे । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्  ।


    images
    images

    Logo