images
images

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा


  • 369
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ को जनगणनाको आधारमा

    काठमाडौं । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताए ।

     उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानि निर्वाचन सम्पन्न गराउने स्पष्ट पारे । निर्वाचन सम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भएपनि हालैको जनगणनापछिको आधिकारीक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उनले उल्लेख गरे । 

    उनले २५ गते हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनले बताए । उनले भने – ‘हाम्रो अहिले भएको कानूनी व्यवस्था अनुसार स्वभाविक रुपले यो निर्वाचन पनि अन्य निर्वाचन भन्दा अझ मर्यादित ढंगले, व्यवस्थित ढंगले सम्पन्न हुनेछ भन्ने आयोगलाई विश्वास लागेको छ । 

    हाम्रो कार्यक्रम अनुसार आयोगले आजै मतदाताहरुको नामावली आयोगको तर्फबाट अन्तिम रुप दिनेछ । र यहाँ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने छ । जम्मा हाम्रा मतदाता ८ सय ८४ जना हो । ५ सय ५० जना प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फ संसद सचिवालयबाट प्राप्त विवरण अनुसार एउटा पद रिक्त रहेको चितवन २ र दुईवटा पदहरु निलम्वित रहेको भन्ने आयोगलाई विवरण प्राप्त भएको छ । 

    त्यसको कानून बमोजिम विश्लेषण गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । दाबी बिरोध लगायतका प्रक्रियाहरु पूरा गर्नको निम्ति १० गतेदेखि यहाँबाट प्रक्रिया हुनेछन् । १३ गते हामीले मनोनयनको मिति तोकेका छौँ । २५ गते १० बजेदेखि ३ बजेसम्म यहीँ निर्वाचन हुनेछ । हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ । प्रतिनिधि सभा सदस्यतर्फ र प्रदेश सभा सदस्यतर्फ । 

    यसको अर्थ के हो भने प्रदेश सभा सदस्यको मतभार र संघीय संसदका सदस्यका मतभार फरकफरक हुने भएकाले दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । र अहिले सबैको चासो पनि मतभार कति कायम गर्ने भन्ने व्यवस्था पनि रहेको सन्दर्भमा म यो पनि स्पष्ट गर्न चाहन्छु, हाम्रो निर्वाचन सम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने भन्ने व्यवस्था गरेको छ । 

    निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारीक रुपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानि यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’

    उनले २५ गते दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताए । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उनले जानकारी दिए । निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।- न्युज एजेन्सी नेपाल

     


    images
    images

    Logo