भक्तपुर । सूर्यविनायक नगर अस्पतालले आइतबार पहिलो वार्षिकोत्सव मनाएको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
अस्पताल प्रजातन्त्र दिवसको अवसर पारेर गत वर्ष आजैको दिनबाट सञ्चालनमा आएको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले अस्पताल शूरु गर्दाको क्षण स्मरण गदै अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई व्यहोर्नु परेको बताए ।
रात दिन नभनी अस्पताल सञ्चालनमा ल्याएको बताउँदै नगर प्रमुख थापाले आगामी दिनमा विज्ञ, नगरबासी सबैको राय सुझाव अनुसार
अस्पताललाई व्यवस्थित बनाएर सेवा विस्तार गर्दै लगिने जानकारी दिए ।
अस्पताल राम्रो बनाएर नाफामा लगे आफ्नो पालाको सबै मुनाफा कर्मचारीलाई दिने घोषणा गर्दै प्रमुख थापाले त्यसका लागि सबै एम भएर लाग्नुपर्नेमा जोड दिए । नगर अस्पतालले स्थापना कालदेखिनै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था गर्दै आएको बताउँदै प्रमुख थापाले नगरपालिकाले नगरवासीलाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई प्रति परिवार एक हजार रूपैयाँ अनुदान दिने निर्णय गरिएको जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्राईले कुनै पनि संस्था स्थापना गर्दा त्यसको निश्चित उद्देश्य हुने र त्यो पूरा गर्नका लागि निरन्तर मेहनत आवश्यक पर्ने बताउँदै ठोस योजना बनाएर अस्पतालको सेवा बिस्तार र गुणस्तरीय सेवा प्रदान गरिने बताइन ।
नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेलले अस्पतालमा ४२ करोड रूपैयाँको लागतमा थप भवन निर्माणका लागि केहि सातामै टेन्डर आव्हान गरिने जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पताललाई नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको बताउँदै चालू बर्षमात्र छ करोड ५० लाख वजेट बिनियोजन गरिएको जानकारी दिए । आगामी दिनमा अस्पताल आत्मनिर्भर हुने गरि अगाडि बढ्नुपर्नेमा सापकोटाको जोड थियो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा।सागर राजभण्डाले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वाषिर्कोत्सवमा शुभकामना मन्तव्य व्यक्तगर्दै पत्रकार पेशल आचार्यले नगरवासीलाई आकर्षण हुने स्किम ल्याएर नगरवासीलाई सुविधा दिनुपर्नेमा जोडदिदै अस्पताललाई कुनै विषयमा बिशिस्टिकृत गरेर अघि बढाउन सके अन्यत्रबाट समेत बिरामी आउँने सुझाए ।
अरनिको राजमार्गसँगै रहेको नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू, एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत अत्यावश्यक सेवा २४ सैं घण्टा सञ्चालन हुँदै आएको छ ।

आफ्नै अक्सिजन प्लान्ट रहेको अस्पतालले सुलभ मुल्यमा अक्सिजन समेत बिक्री गर्दै आएको छ । अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा भक्तपुरका अलवा काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाहरू समेत उपचारका लागि आउने गर्दछन् ।



