काठमाडौं । सरकारले २८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीलाई सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले सरुवा भएका २८ जना मध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमध्ये मधेस प्रदेशका २२ वटा स्थानीय तहमा उनीहरूलाई सरुवा गरेको हो ।
त्यस्तै, सुर्खेत, बझाङ र डोल्पाका नगरपालिकामा एक÷एक जना उपसचिव पठाएको छ भने २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।
स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको हो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा ९ र अख्तियारमा पठाइएका उपसचिव रामबहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा ५ को उपदफा १ बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।



