images
images

निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्न नेपाल नेत्रज्योति संघ र सीबीएमबीच सम्झौता


  • 262
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्न नेपाल नेत्रज्योति संघ र सीबीएमबीच सम्झौता

    काठमाडौं । नेपाल नेत्रज्योति संघ र सीबीएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनि रहेका आम नागरिकहरुलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बीचमा सम्झौता भएको हो ।

    उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र सीबीएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो ।  

    सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सीमान्तकृत समुदायका र गरिबीको रेखामुनि रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।

    दुई संस्थाबीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रममार्फत् उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।

    ‘नेत्रज्योति संघ र सीबीएम ग्लोबलका बीचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गर्न विगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । हाम्रो ४० वर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इट्टा थप्ने काम गरेको छ र यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरुले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् जसले उनीहरुको आर्थिक, सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले भने ।

    सम्झौता पछि बोल्दै सीबीएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट काम कै कारण विगत ४० वर्षदेखि विभिन्न कार्यक्रम मार्फत् नेत्रज्योति संघसँग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यतm गरे ।

    सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठूलो सहयोग पुर्याउने बताउँछन् नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त । अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिविहीनतामा बसिरहेको भन्दै उनले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपनको निवारण हुने विश्वास व्यक्त गरे ।

    हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सीबीएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।

    हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन् भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनि नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।


    images
    images

    Logo