काठमाडौं । जुम्लामा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दनाको जलेर मृत्यु भएको हो ।
आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घर पूर्णरुपमा क्षति भएको छ । सो घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएपनि तेस्रो तलमा सुतेकी बालिका निस्कन नपाई जलेकी थिइन् ।
घरको दोस्रो तलाबाट आगलागीमा परेर लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको खुट्टाको केही भागमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।