काठमाडौं । सातै प्रदेशको विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मका ६ महिनामा कुनै पनि प्रदेशले २० प्रतिशत पनि खर्च गर्न सकेका छैनन् ।
प्रदेशतर्फ सबैभन्दा धेरै विकास खर्च गरेमागण्डकीले १६.२९ प्रतिशत मात्रै विकास खर्च गरेको छ भने सातवटा प्रदेशमा सबैभन्दा कम खर्च कर्णालीमै भएको हो । कर्णालीले ९.८ प्रतिशत खर्च गरेको छ । त्यस्तै, मधेसले १०.३०, बागमतीले १०.४६, सुदूरपश्चिमले ११.०८, लुम्बिनीले १४.८२ प्रतिशत खर्च गरेका छन् ।
कुन प्रदेशले कति गरे खर्च ?
बागमती : ६ महिनामा १५.७८ मात्रै खर्च
बागमती सरकारले चालू आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले पुस मसान्तसम्म कुल बजेटको १५.७८ प्रतिशत मात्रै खर्च गरेको छ । यस वर्ष चालूतर्फ ६ महिनामा २२.९५ प्रतिशत र पुँजीगततर्फ १०.४६ प्रतिशत खर्च गरेको छ ।
मधेस : १०.२४ प्रतिशत मात्रै भयो विकास खर्च
मधेस सरकारले चालू आर्थिक बर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको कुल बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले पुस मसान्तसम्म कुल बजेटको १०.९४ प्रतिशत मात्रै खर्च गरेको छ । जसमा चालूतर्फ ११.७२ र पुँजीगततर्फ १०.३० प्रतिशत बजेट खर्च भएको छ ।
गण्डकी : ६ महिनामा १६.६३ प्रतिशत मात्रै खर्च
गण्डकी सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिना सकिँदा १६.६३ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले चालू आर्थिक बर्षको लागि ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो । जसमा चालूतर्फ २१.९३ प्रतिशत र पुँजीगत तर्फ १३.८२ प्रतिशत बजेट खर्च भएको छ ।
कर्णाली : १३.४ प्रतिशत मात्रै खर्च
चालू आर्थिक बर्षको ६ महिनामा कर्णालीको कुल बजेटको १३४ प्रतिशत मात्रै खर्च भएको छ । जसमा पुँजीगततर्फ ९.०८ प्रतिशत खर्च भएको छ । त्यस्तै, चालूतर्फ १८.९० प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालू आर्थिक बर्षको लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको थियो ।
सुदूरपश्चिम : १४.४३ प्रतिशत मात्रै भयो विकास खर्च
चालू आर्थिक बर्षको ६ महिनामा सुदूरपश्चिमको कुल बजेट सरकारले कुल बजेटको १४.४३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । जसमा पुँजीगततर्फ ११.०८ र चालू खर्च २१.२८ प्रतिशत खर्च गरेको छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक बर्ष २०७९/८० मा कुल ३६ अर्ब ७४ करोडको कुल बजेट ल्याएको थियो ।
लुम्विनी प्रदेश : १८.४५ प्रतिशत खर्च भयो विकास बजेट
लुम्विनी प्रदेश सरकारले चालू आर्थिक बर्षका लागि ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले पुस मसान्तसम्म कुल बजेटको १६.६३ प्रतिशत मात्रै खर्च गरेको छ । चालु बर्षको ६ महिनामा पुँजीगततर्फ १४.८२ प्रतिशत मात्र खर्च भएको छ भने चालू खर्च २३.४३ प्रतिशत मात्र खर्च भएको छ ।



