काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अघि बढेको रिपोर्ट सार्वजनिक गरेको छ । रेमिट्यान्स वृद्धिसँगै विदेशी विनिमय सञ्चिति तथा शोधनान्तर स्थिति अनुकुल बन्दै जाँदा वित्तीय क्षेत्रमा पनि सहज अवस्था देखिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
तर महँगीको सवालमा भने अझै पनि अपेक्षाकृत सुधार हुन नसकेको प्रतिवेदनले देखाउँछ । पुस मसान्तसम्मको वार्षिक विन्दुगत मुद्रास्फीति अघिल्लो वर्षभन्दा बढेर ७.३८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति दर ७.११ प्रतिशत रहेको थियो ।
सो अवधिमा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सो दर ५.६७ प्रतिशत थियो । त्यस्तै, गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा सो दर ८.२५ प्रतिशत थियो ।
खाद्य तथा पेयपदार्थ अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत सूचकांकमा १५.५६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सूर्तीजन्य पदार्थ को मूल्यमा ११.८१ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा खाद्यजन्य पदार्थ, दुग्ध पदार्थ तथा अण्डा र पेय पदार्थको मूल्यमामा क्रमशः ९.३९ प्रतिशत, ९.०७ प्रतिशत र ८.८४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत सूचकांकमा १७.३३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रको सुविधामा ११.२२ प्रतिशतले मूल्यवृद्धि भएको छ । गैर खाद्य तथा सेवा समूह अन्तर्गतकै मनोरञ्जन तथा संस्कृति, घरायसी उपयोगका वस्तुहरु र फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य क्रमशः ८.७६ प्रतिशत, ८.२९ प्रतिशत र ८.२९ प्रतिशतले बढेको छ ।
पुस महिनासम्मको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो दर ७.२२ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १३.१४ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । सो अवधिमा निर्माण सामाग्रीको थोक मुद्रास्फीति भने १०.५१ प्रतिशत पुगेको छ ।
क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यका, तराई, पहाड र हिमालमा मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८ प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा सो दर क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।
मंसिर महिनाको पहिलो दुई साताको अवधिसम्ममा भारतको मुद्रास्फीति भने ५.७२ प्रतिशत रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।



