काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ वटा मन्त्रालय सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा दिएका थिए ।
शिक्षामन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबाट राजीनामा दिएका थिए । दुईमन्त्रीको राजीनामासँगै रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रचण्डलाई नै तोकेकी हुन् ।
यस अघि रास्वापाकै रवि लामिछानेको गृहमन्त्री पद गएपछि सो मन्त्रालय पनि प्रचण्डले नै सम्हाल्दै आएका छन् भने वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।




